काठमाडौं, १७ असार । परराष्ट्रमन्त्री एनपी साउदले नयाँ नयाँ पार्टीहरू आइरहेको तर उनीहरूको समाजिक सञ्जाल बाहेक कतै संगठन नभएको दाबी गरेका छन्। आइतबार अछाम कांग्रेसद्धारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री साउदले नयाँ पार्टीहरू आइरहेको तर उनीहरूको समाजिक सञ्जालबाहेक कतै संगठन नभएको दाबी गरेका हुन्।
उनले भने, ‘नयाँ नयाँ पार्टी आइरहेका छन्। सोसल मिडिया बाहेक उनीहरूको कतै संगठन छैन। उनीहरू अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्। पार्टी पद्दतिमा विश्वास गर्दैनन्। पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न सक्दैनन्। त्यहीँ भएर लगातार विवादमा परिराखेका छन्।’
यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री नभएको जिकिर गरे। उनले भाग्यले प्रधानमन्त्री नभइ योग्यता र विचारले प्रधानमन्त्री भएको बताए।
उनले भने, ‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ? शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो। नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएको हो। किनभने यो पार्टी सबै पार्टीलाई संगसंगै लैजान सक्ने पार्टी हो।’