Logo

सांसद खतिवडाको प्रश्नः ‘जुलुस आउनेवित्तिकै विधेयक ल्याइहाल्नुपर्ने हो र ?’



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सरकार बहकिन थालेको टिप्पणी गरेका छन् । आज (आईतबार) प्रतिनिधि सभामा मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्ति छलफलमा भाग लिँदै उनले जुलुस आउनेवित्तिकै विधेयक ल्याइहाल्ने र जुलुस घरमा गएर बसेपछि संशोधन थाल्ने प्रवृत्ति बढेको टिप्पणी गरेका हुन् । कतिपय कुराहरुमा मिटरब्याजीलाई सरकार आफैंले संरक्षण गरेको हो कि भन्ने भान भएको उनको टिप्पणी छ ।

‘हामी पनि अलिकता बहकिन थालेका छौं । जुलुस आयो, त्यसैको पक्षमा तुरुन्त विधेयक ल्याइहाल्नु पर्ने । त्यो जुलुस गएर घरमा बस्यो, अलि मिलेन कि संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी लागेका छौं । मिटरब्याजी कतिपय कुरामा हामी आफैंले संरक्षण गरेका हौं कि जस्तो पनि हामीलाई भान हुन्छ,’– उनले भने ।

गाउँघरतिर बैंकले साना पुँजी भएकाहरुलाई ऋण नदिँदा गरिबहरु झनै मिटरब्याजीहरुको चपेटामा परेको उनले बताए । साहुमहाजनले ऋण दिएर कति लिन पाउने हो त्यसको बारेमा सरकारले निर्धारण गर्न आवश्यक रहेको पनि उनले बताए ।

‘बैंकिङ सेक्टरमा हेर्न हो भने, बैंकले लगानी गर्छ, साना पुँजी भएकालाई लगानी गर्न डराउँछ । गाउँघर तिर त झन यो तेरो खेतको मूल्य नै छैन, पाउँदैनस् भन्दिनछ, मान्छेले बैंकबाट ऋण नै लिन पाउँदैन । नजिकको साह महाजनबाट लिन्छ । साहु महाजनले कति लिन पाउने हो ? निर्धारण गरौं,’–सांसद खतिवडाले भने ।

मान्छे बैंकको व्याज तिर्न नसकेर मरिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि विचार गर्न आवश्यक रहेको उनले बताए । बैंकको पैसा तिर्न नसकेर मरेका ऋणीहरुको बारेमा पनि सरकारले व्यवस्था गर्नुपर्ने उनले बताए । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्