काठमाडौं, १७ असार । नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको समयसीमा तोकिएको छ। राष्ट्रिय योजना आयोगले ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) तर्जुमाको समयतालिका तयार पारेको हो।
कार्यविधिअनुसार गत जेठ चौथो हप्तादेखि काम सुरु भएर आगामी माघ मसान्तसम्ममा आवधिक योजनालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिसक्नेगरी समयतालिका बनाइएको छ। कार्यविधिले तोकेको समयतालिकाअनुसार सोह्रौँ योजनाको अवधारणा तयारी सम्बन्धमा विज्ञसँगको अन्तरक्रिया असारसम्ममा सकिसक्ने आयोगको तयारी छ। त्यस्तै, सोह्रौँ योजनाको अवधारणाको मस्यौदा तयारी र आयोगबाट पारित गर्नका लागि साउन पहिलो हप्तासम्मको समयसीमा तोकिएको छ।
कार्यविधिअनुसार आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्देशक समिति र सदस्यहरुको संयोजकत्वमा विषय क्षेत्रगत समिति रहेको छ। सोह्रौँ योजनाको अवधारणापत्र निर्देशक समितिबाट साउन पहिलो हप्ताभित्र सुझावसहित स्वीकृत भइसक्नेछ। त्यस्तै, योजनाको स्वीकृत अवधारणासहित विस्तृत योजना तर्जुमा सम्बन्धमा विषयगत मन्त्रालयहरुसँग प्रारम्भिक छलफल तथा आवश्यक विवरण उपलब्ध गराउन साउन दोस्रो हप्तासम्ममा पत्राचार भइसक्नेछ। विषयगत मन्त्रालयबाट भदौ पहिलो हप्ताभित्र सुझाव लिइसक्ने योजना आयोगको रहेको छ। समष्टिगत आर्थिक तथा लगानी खाकाको तयारी पनि भदौ दोस्रो हप्तासम्ममा भइसक्नेछ।
“आगामी असोज दोस्रो हप्तासम्ममा आवधिक योजनाको क्षेत्रगत एकीकृत प्रारम्भिक मस्यौदा तयार पारी आयोगबाट स्वीकृत गरिसक्नेछ भने असोज तेस्रो हप्तासम्ममा राष्ट्रिय विकास परिषद्को गठन तथा परिषद्का सदस्यलाई एकीकृत प्रारम्भिक मस्यौदाको प्रतिलिपि वितरण गरिसक्नेछ”, कार्यविधिमा भनिएको छ। रासस