Logo

कांग्रेस नेता थापालाई प्रश्नः ‘कोशी प्रदेशमा तपाईँ मुख्यमन्त्री बन्दै हो ?’



काठमाडौं, १८ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि पाँच दिनको समय सीमा दिएर आह्वान गरेका छन् । प्रदेश प्रमुखले समय सीमा दिएको २४ घण्टा वितिसक्दा पनि कसको नेतृत्वमा सरकार गठन हुने भन्नेबारे टुंगो लागिसकेको छैन । हिक्मत बहादुर कार्की नेतृत्वको प्रदेश सरकारले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

कोशी सरकार अब कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी) लगायतको दलहरुको समर्थनमा बन्ने निश्चित छ । तर, सरकारको नेतृत्व कांग्रेस वा माओवादीले गर्ने भन्नेबारे अहिलेसम्म टुंगो लागिसकेको छैन । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा प्रदेश सरकारको नेतृत्वबारे निष्कर्षमा पुग्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको बताउँछन् । शीर्ष नेताहरुले बैठकबाट गरेको निर्णय स्वीकार्ने कांग्रेस र माओवादीबीच समहति बनेको र केन्द्र सरकारले गरेको निर्णय आफुहरु स्वीकार गर्ने उनी बताउँछन् ।

‘नयाँ सरकार गठनको लागि शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै हुनुहुन्छ भन्ने जानकारी पाएका छौं । पहिला माओवादीले सरकारको नेतृत्व गर्ने कि कांग्रेसले भन्ने कुरा पनि शीर्ष नेताहरुबाटै टुंगिन्छ । जे निर्णय हुन्छ, हामी त्यसलाई प्रदेशमा सहर्ष स्वीकार गर्छौं । मान्छौं, निर्णयको पालना गर्छौं भन्ने हाम्रो प्रदेशमा सहमति छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्