काठमाडौं, १८ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने दाबी गरेको छ।
देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा ३६ हजार ३ सय ५६ क्विन्टल खाद्यान्न मौजाद रहेको जनाएको छ। त्यस्तै, अतिदुर्गम तथा दुर्गम जिल्लाहरूमा २५ हजार ५ सय ५ क्वीन्टल खाद्यान्द मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्याङ्क रहेको छ।
प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको उद्योग मन्त्रालयले जनाएको छ। हाल २६ हजार ३ सय ७५ क्वीन्टल धान मौजाद रहेको पनि उद्योग मन्त्रालयले बताएको छ।
भारतबाट आयात कोटा अन्तर्गत साल्ट ट्रेडिङमार्फत ३४ हजार ३ सय २० क्वीन्टल गहुँ तत्काल प्राप्त हुने उद्योग मन्त्रालयले दाबी गरेको छ।
यसरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कुल २ लाख ६६ हजार ३ सय क्वीन्टल खाद्यन्न मौजाद रहने र हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्वीन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको साथै भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको उद्योग मन्त्रालयले जनाएको छ।