Logo

मलेसियाको ब्याटिङ ध्वस्त पार्दै नेपालले जित्यो उपाधि



काठमाडौं,१९ असार । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ ।

मलेसियामा भएको फाइनल खेलमा नेपालले २२१ रनको विशाल जितसहित उपाधि उचालेको हो ।

नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछयाएको मलेसियाले खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाउँदै १४ दशमलव ५ ओभरमा मात्र ३१ रन बनाएर आउट भएपछि नेपालले उपाधि निश्चित गरेको हो । मुहम्मद अक्रमले बनाएको १० रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियाको ब्याटिङ ध्वस्त बनाउन नेपालका कप्तान अभिषेक तिवारी एक्लैले पाँच विकेट लिएका छन् । भने सन्तोष यादवले तीन विकेट लिए ।  ६ ओभर बलिङ गरेका अभिषेक तिवारीले जम्मा ७ रन मात्रै दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको ११२ रनको शतकिय पारीमा २५२ रनको विशाल योगफल तयार गरेको थियो । ८९ बलको सामना गरेका नरेनले २ छक्का र १० चौकाको मद्दतमा नटआउट ११२ रन बनाएका थिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए।

त्यस्तै निरजकुमार यादवले ४७ रनको योगदान गरे । भने सन्तोष यादवले २६,सुर्यासू कोइरालाले १८ रन बनाएको थिए । त्यस्तै २६ रन नेपालले अतिरिक्त मार्फत प्राप्त गरेको थियो ।

बलिङतर्फ मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।

आज मलेसियालाई हराउँदै नेपाल एसीसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गरेको छ । यसअघि एसिसीको आयोजना भएको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।

नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। दुवै संस्करण थाइल्यान्डमा भएका थिए। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ र ‍ २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो।



प्रतिक्रिया दिनुहोस्