Logo

कोशीमा सत्ताको गाँठो फुकाइदिन देउवाले मागे लिङदेनको साथ



काठमाडौं,१९ असार । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै दलहरु नयाँ सरकार निर्माणको तयारीमा जुटेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार बेलुका पाँच बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा सो भन्दाबढि दलको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आव्हान गरेपछि राजनीति सरगमी बढेको छ ।

सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कोशीको नयाँ मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै सत्तारुढ दलहरु बहुमत जुटाउने तयारीमा लागेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग सभामुख वाहेक ४६ सांसदको मात्रै समर्थन रहेको हुँदा सत्तारुढ दलहरु प्रतिपक्षी कित्तामा रहेको राप्रपालाई साथमा लिने प्रयासमा जुटेका छन् ।

प्रदेशसभामा ६ सांसद रहेको राप्रपाले साथ दिएमा नयाँ सरकार सजिलैसँग बन्ने र टिक्ने अवस्था रहेको बुझेका सत्ता घटकका दलहरुले राप्रपासँगको छलफललाई तिब्रता दिएका छन् ।

आफ्नो भागमा मुख्यमन्त्री परेपनि बहुमत जुटाउन सकस परेपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर नयाँ सरकार बनाउन साथ मागेका छन् । सोमबार साँझ लिङदेनलाई भेटेर देउवाले कोशीमा सत्ताको गाँठो फुकाइदिन आग्रह गरेका हुन् ।

विगतमा पनि कांग्रेस र राप्रपाबीच सहकार्य भएको स्मरण गराउँदै अहिलेपनि राप्रपाले कांग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारलाई साथ दिन देउवाले आग्रह गरेको राप्रपा स्रोतले जनाएको छ । तर राप्रपा अध्यक्ष लिङदेनले भने कुनैपनि ठोस जवाफ दिएका छैनन् ।

प्रदेश प्रमुख खापुङले दिएको २१ असारको समयसीमा नजिकिँदै जाँदा दलहरुले छलफललाई तिब्रता दिएपनि कूनै ठोस निष्कर्षमा पुग्न नसक्दा कोशी प्रदेशमा पार्टीको तर्फबाट पहिलो मुख्यमन्त्री बन्ने थापाको चाहना पुरा हुनेमा शंका उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot