Logo

स्ववियुले आफ्नो कार्यमार्फत विद्यार्थी राजनीतिको महत्व देखाउनुपर्छः नेविसंघ अध्यक्ष शेर्पा



काठमाडौं, २० असार । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनको परम्परागत शैली रूपान्तरणको आवश्यकत्ता औंल्याएका छन् । अध्यक्ष शेर्पाले परम्परागत शैलीमा परिवर्तन नआउँदा विद्यार्थी राजनीतिमाथि नै प्रश्न उठेको भन्दै नवप्रारुप छिट्टै प्रस्तुत गर्नेसमेत बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन आवश्यक रहेको अभिव्यक्ति दिएसँगै विद्यार्थी राजनीतिबारे वहस हुन थालेको छ । महामन्त्री थापाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा विश्वविद्यालय राजनीतिका कारण ध्वस्त भएको भन्दै हस्तक्षेपकारी भूमिका खेल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका थिए ।

विद्यार्थी, कर्मचारी र प्राध्यापकमा राजनीतिक चेतनाको विकास हुनुपर्ने तर विश्वविद्यालयमा दलको झोला बोक्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाको अभिव्यीक्ततर्फ लक्षित गर्दै अध्यक्ष शेर्पाले विद्यार्थी राजनीतिको महत्व स्वतन्त्र विद्यार्थी युनियनहरुले देखाउनुपर्ने बताएका छन् ।

अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्,‘विद्यार्थी राजनीतिको महत्व देशभरका स्ववियुले आफ्नो कार्यमार्फत देखाउनैपर्छ । त्यसका साथै विद्यार्थी आन्दोलनको नवप्रारूप पनि सबैमाझ छिट्टै प्रस्तुत हुनेछ । अहिलेलाई यत्तिनै। थप नेविसंघ केन्द्रीय कार्यसमिति आएपछि ।’



प्रतिक्रिया दिनुहोस्