Logo

सुमेरु सहकारीका सचिवको प्रतिवद्धता, ‘ढिलो/चाँडो बचत फिर्ता गर्छौं’



काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले विशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । आज (बुधबार) क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायतबाट प्रतिनिधित्व रहेको थियो ।

सुमेरु सहकारीका सचिव विनोद आचार्यले आफूहरुको कारणलेमात्रै सहकारीमा समस्या नआएको स्पष्ट पारे । सुमेरु सहकारी संकटमा पर्नुमा अहिलेको विश्वमा देखापरेको आर्थिक मन्दी प्रमुख रहेको उनको भनाई छ । ‘सुमेरु सहकारीमा समस्या आएको सुमेरुको आफ्नो मात्रै समस्याले होइन । विश्वमा देखापरेको आर्थिक मन्दीको असरले पनि सुमेरुमा समस्या आएको हो,’– उनले भने ।

सुमेरु सहकारीसँग गत असारमा तीन अर्ब रुपैयाँ पैसा रहेपनि विभागबाट अनुगमन भएर लगानी गर्न निर्देशन भएकाले आफूहरुले एक अर्ब लगानी गरेको उनले सुनाए । विभागको निर्देशनपछि सहकारीले एक अर्ब रुपैयाँ तत्काल लगानी गरेको उनको दाबी छ ।

‘विभागबाट अनुगमन हुँदा चाहिनेभन्दा बढी लिक्युडिटी राखेको भएकाले तुरुन्त लगानी गर्नुस्, होइन भने नियमानुसार कारबाही हुन्छ भनिसकेपछि एक अरब पैसा हामीले तत्कालै लगानी गर्यौं,’– उनले भने ।

सहकारीमा देखिएको संकटका कारण एक महिनामै दुई अरब रुपैँया पैसा फिर्ता भएको उनको दाबी छ । चुनावपछि सहकारीको अध्यक्ष भरत महर्जन बेलायत गएको उनले बताए । बेलायत गएका अध्यक्ष महर्जन फर्कने लक्षण नदेखेपछि सुमेरु सहकारीबाट सिर्जित उनको नाममा र उनको परिवारका सदस्यको नाममा भएको सम्पत्तिको वारेसनामा पठाउन भनेको उनले सुनाए । सुमेरुको सम्पत्ति लगभग १५ अर्ब रहेको र निक्षेप घटेर आठ अर्बमा झरिसकेको उनको दाबी छ ।

बचतकर्ताको रकम कसरी फिर्ता गर्न भनेर आफूहरु लागिरहेको र ढिलोचाँडो बचतकर्तालाई रकम फिर्ता गर्नेपनि उनले प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष महर्जन अहिले आफूहरुको सम्पर्कमै रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot