Logo

कोशीमा गठबन्धनलाई राप्रपाले दिएन साथ,४ दलले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने



काठमाडौं,२१ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसिमाको अन्तिम दिन ४ दलले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् ।

गत १५ असारमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपपछि पदमुक्त भएपछि प्रदेश प्रमुख खापुङले पाँच दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमा घर्कदै जाँदा आवश्यक ४७ सांसदको समर्थन जुटाउन सत्तारुढ दललाई सकस परेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ । हाल मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कांग्रेस,माओवादी,जसपा र नेकपा एकीकृत समाजवादी गरी ४ दलको समर्थन रहेको छ । ४ दलसँग सभामुखसहित ४७ सांसद रहेका छन् सभामुख बाबुराम गौतम माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । दलहरुले सभामुख गौतमलाई समेत जोडेर ४७ सांसदको समर्थन देखाउँदै दाबी पेस गर्ने तयारी गरेका छन् ।

सत्तारुढ दलले सभामुखलाई जोडेर प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी प्रति एमाले र राप्रपाले आपत्ति जनाएका छन् । सभामुख निर्वाचित भएपछि गौतमले आफ्नो दल त्यागेको घोषणा गरिसकेको भन्दै उनलाई दलले आफ्नो सांसद भन्न नपाउने एमालेको भनाई छ । एमालेले संविधान र कानूनको बर्खिलाप हुनेगरी निर्णय गरे अदालत जाने चेतावनीसमेत दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्