Logo

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीको राजीनामाभन्दा तल सम्झौता गर्दैनौंः राजेन्द्र गौतम



काठमाडौं, २१ असार । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, राष्ट्रको सार्वभौमता, संसद्को आफ्नो अधिकार क्षेत्रलाई आघात पु्ग्ने अभिव्यक्ति दिएकाले एमालेले राजीनामा भन्दा तल सम्झौता नगर्ने बताए ।

‘प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएर संसद्को गतिरोध हटाउनका निम्ति हामी आग्रह गर्छौं । यो मुद्दा सिधै राष्ट्रियतासँग, राष्ट्रको सार्वभौमतासँग, संसद्को आफ्नो अधिकार क्षेत्रसँग जोडिएको मुद्दा भएको हुनाले हामी यसलाई इफ बट कुनै पनि शर्तमा राजीनामा भन्दा तल हामी सम्झौता गर्दैनौं,’– उनले भने ।

जनताबाट निर्वाचित सार्वभौम संसद्ले संविधानमार्फत् प्रधानमन्त्री बनाउने व्यवस्था भएपनि प्रधानमन्त्रीले खुलेआम शक्ति केन्द्रको आडमा आफू नियुक्त भएको अभिव्यक्ति दिएको उनको आरोप छ । प्रधानमन्त्रीको अभिव्यक्तिले एउटा गम्भीर संवैधानिक प्रश्न खडा भएको उनको भनाई छ । साथै, प्रधानमन्त्रीले सार्वभौम सत्ताको दुरुपयोग गरेको एमालेको महशुस रहेको पनि उनले बताए ।

‘यो एकाएक मागिएको राजीनामा होइन । प्रधानमन्त्री नेपालको संसद्बाट बन्छ कि कुनै शक्ति केन्द्रको आडमा प्रधानमन्त्री बन्छ ? प्रधानमन्त्रीले खुलेआम भन्नु भयो, म प्रधानमन्त्री फलानो ठाउँबाट, फलानोको सहयोगमा बनेको थिएँ । जनताबाट निर्वाचित सार्वभौम संसद्ले संविधानमार्फत् प्रधानमन्त्री बनाउने हाम्रो संवैधानिक व्यवस्था छ । यसलाई विर्सिएर उहाँले प्रधानमन्त्री निर्माणको स्रोत के हो ? प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्रीजी कन्फ्युजनमा हो या जहाँबाट प्रधानमन्त्री बन्नुभएको हो त्यो खुलासा गरेको हो ? यसले एउटा गम्भीर संवैधानिक, संसद्को क्षेत्राधिकार, संसद्को सार्वभौम सत्ताको दुरुपयोग भइरहेको हामीले महशुस गरेका छौं ।’

 



प्रतिक्रिया दिनुहोस्