- कमल बुढाथोकी
काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको पाँच दिनको समय सीमा आज साँझ सकिँदैछ । गत सोमबार भएको सत्तारुढ दलको सहमती अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने र गठबन्धनमा आवद्ध दलको समर्थनमा दाबी पेस गर्ने निर्णय गरिसकेको कारण आज दिउँसो कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा दाबी पेस गर्ने सत्तारुढ गठबन्धनको तयारी रहेको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ । तर अहिलेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका थापालाई कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गरी ४७ सांसद(सभामुख)को समर्थन रहेको छ । तर सभामुख नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएको कारण उनलाई कुनेपनि दलमा जोड्न नहुने विपक्षीको भनाई रहेको छ । सभामुख बाबुराम गौतम प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भएका हुन् ।
प्रदेश सभामा निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निरन्तर छलफलमा रहेको कांग्रेसले राप्रपालाई फकाउन असफल भएपछि सभामुख गौतमलाई जोडेर भएपनि दाबी पेस गर्ने कांग्रेस माओवादीको तयारी रहेको छ । सभामुख गौतमलाई जोडेर दाबी पेस गर्न लागेकोप्रति प्रमुख प्रतिपक्षी एवं प्रदेशको कामचलाउ सरकारको नेतृत्व गरिरहेको एमालेले भने आपत्ति जनाएको छ । सभामुख निर्वाचित भएपछि गौतमले आफ्नो दल त्याग गरिसकेको कारण उनलाई गणना गर्न नहुने एमाले प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी बताउँछन् ।
रिपोर्टर्स नेपालसँग कुरा गर्दै एमाले प्रदेशसभा सदस्य एवं कानुनविद्ध भण्डारी भन्छन्,- ‘सभामुख निर्वाचित भएकै दिन प्रदेशसभाबाट बाबुराम गौतमले दल त्याग गरिसक्नु भएको छ । उहाँ विगतमा जुनसुकै दलमा आवद्ध भएपनि सभामुखको कार्यकाल रहँदासम्म स्वतन्त्र र निष्पक्ष व्यक्ति हो,सभामुखलाई कुनैपनि दलले जोडेर बहुमत देखाउनु कानून र संविधानको ठाडो बर्खिलाप हो ।’
गत असार १५ गते प्रदेशसभामा विश्वासको मत पाउँन नसकेपति तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएकै दिन प्रदेश प्रमुख पर्शुराम खापुङसँग भेट गरेर एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेसका लागि आव्हान गर्न आग्रह गरेको स्मरण गराउँदै भण्डारीले भने,- ‘प्रदेश प्रमुख ज्यूप्रति एमालेको पूर्ण विश्वास छ । उहाँप्रति हामीले गरेको भरोसा तोड्ने काम गर्न हुँदैन । प्रदेश प्रमुखले संविधान र कानूनको हित प्रतिकुल हुने कुनैपनि निर्णय गर्नुहुने छैन।’
गठबन्धनका दलले सभामुख गौतमलाई समेत जोडेर दाबी पेस गर्ने तयारी गरिरहेकोप्रति रिर्पोटस नेपालको प्रश्नमा भण्डारीले पहिले प्रदेश प्रमुखले गर्ने निर्णय कुर्ने र विपक्षीमा रहेका अन्य दलसँग छलफल गरेर अगाडि बढ्ने र आवश्यक परे अदालतको ढोका ढकढकाउनसमेत पछि नपर्ने बताए ।