Logo

पत्रकार सापकोटामाथि अभद्र व्यवहारः हिरासतमा रहेका भू–माफिया गिरीमाथि अनुसन्धान सुरू



काठमाडौं, २१ असार । समाचार लेखेको विषयलाई लिएर पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गर्ने अनामनगरको सरकारी जग्गा खाने हरिप्रसाद गिरीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थपेर प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको हो । साविक महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ (हाल कामपा–२९) को धोबीखोला जनिएको ५ आना सरकारी जग्गा खाने गिरी र उनको समूहले अनामनगरस्थित सार्वजनिक बाटोमा पत्रकार सापकोटामाथि अभद्र व्यवहार गरेको थियो ।

नागरिक दैनिक, स्वास्थ्य लाइभ जस्ता मिडियामा उनले समाचार लेखेपछि भू–माफिया गिरीले खाएको सरकारी जग्गा नेपाल सरकारको नाममा फिर्ता आएको थियो । सार्वजनिकरसरकारी जग्गा संरक्षणको पक्षमा कलम चलाउँदै आएका पत्रकार सापकोटामाथि भूमाफिया गिरी र उनी नेतृत्वको समूहले गत ६ गते अभद्र व्यवहार गरेको हो ।

उनले अभद्र व्यवहारमा जाहेरी दिएपछि भूमाफिया गिरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो । सीसीटीभी फुटेजका आधारमा पत्रकार सापकोटामाथि जाइलाग्ने गिरीको समूहलाई आपराधिक बल प्रयोग र संगठित अपराधमा समेत मुद्दा लाग्ने सम्भावना रहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्