Logo

एमालेलाई माओवादीको जवाफ :  प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैन



काठमाडौं,२१ असार । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलहरुको मागलाइ कल्पनासमेत गर्न नसकिने बताएको छ ।

बालुवाटारमा आज भएको सत्तारुढ दलहरुको छलफल सकेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनअपेक्षा अनुसारका काम गर्न थालेप्रति अत्तालिएको एमालेले राजीनामा मागेपनि त्यसको कल्पना गर्न नसकिने बताए ।

‘प्रधानमन्त्रीज्युले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्युले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ’ पाण्डेले भने, ‘यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसंगमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै भारतीय व्यवसायी प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउ निक्कै मेहनत गरेर कयौं पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरु एमाले राप्रपा र रास्वपाले सदन अवरुद्ध गर्दै राजीनामा माग गरेका छन् । तर सत्तारुढ दल भने प्रधानमन्त्रीले सदनमा जवाफ दिने बताउँदै आईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्