Logo

कोशीको राजनीति: एमालेले चाहेजस्तै उपधारा ३ मा जाला ?



काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले दिएको समयसीमाको आज अन्तिम दिन राजनीतिक सरगमी बढेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की गत असार १५ गते प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कामचलाउ सरकारको मुख्यमन्त्रीमा रुपान्तरण भएपछि १७ असारमा प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलको समर्थन लिएर दाबी पेस गर्न समय दिएका थिए ।

प्रदेश प्रमुखबाट दाबी पेसका लागि आव्हान भएपछि बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

गठबन्धनको त्यही निर्णयलाई टेकेर आज कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता थापाले दाबी पेस गर्ने तयारी गरेका छन् । ९३ सदस्यीय प्रदेश सभामा कांग्रेससहितको गठबन्धनमा सभामुअसहित ४७ सांसदको समर्थन छ । जुन बहुमतका लागि प्रर्याप्त हो तर प्रतिपक्षी दलले भने सभामुख कुनै दल विशेष नहुने भन्दै सभामुखलाई गणना गरेर दाबी पेस गर्न नमिल्ने बताएको छ ।

प्रदेशसभामा ६ सांसदसहित निर्णायक देखिएको राप्रपालाई कांग्रेस नेताहरुले मनाउने निक्कै प्रयास गरेपनि सफल नभएपछि राप्रपा वाहेकका दलहरुले सभामुखलाई जोडेर दाबी पेस गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी दल त्याग गरिसकेको सभामुखलाई दलको सांसद भन्दै जोड्न खोज्नु संविधानको बर्खिलाप भएको बताउँछन् । उनले दलहरुले गरेको गल्ती प्रदेश प्रमुखले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

सभामुख बाबुराम गौतमलाई जोडर दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ । यदि प्रदेश प्रमुखले गठबन्धनले पेस गरेको सभामुखसहितको दाबीलाइ स्वीकार गरेमा एमालेले अदालत जाने चेतावनी यसअघिनै दिईसकेको छ ।

दल त्याग गरेको व्यक्तिलाई जोड्न उपयुक्त छैन भन्ने प्रदेश प्रमुखलाई लागेर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्न नसकेमा आजै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनेछन । दलहरुबीच कुरा मिल्न नसक्दा कतै कोशीको राजनीति धारा १६८ को उपधारा ३ मा जाने त होईन भन्ने तिब्र चासो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्