Logo

बेइमानी गर्न जान्ने पार्टी कुन हो भनेर परीक्षमा सोध्नुस्, उत्तर एमाले आउँछः रामनारायण बिडारी



काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय व्यवस्था विपरीत कार्य भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् चल्न नदिने र बहुमतको सरकार टिकाउन नसक्ने एमालेलाई मत दिनेहरु पनि मुर्ख भएको टिप्पणी गरे ।

‘एमाले भन्ने जातै त्यस्तै हो, त्यो जहिलेसम्म रहन्छ, तबसम्म नेपालमा यस्तै गडबढ भइरहन्छ । संसद् चल्न दिन्न रे । संसद्मा बहुमत प्रधानमन्त्री प्रचण्डको छ, संसद्ले बनाएको प्रधानमन्त्री, अब म लाठो लिएर चल्न दिन्न भन्यो भने के गर्ने ? त्यस्तो पार्टीलाई भोट हाल्नेहरु मुर्ख हुन् । त्यस्तो पार्टी जुन पार्टीले संसद् चल्न दिँदैन, दुईतिहाई बहुमत दिएर सरकार बनाए पनि सरकार ढाल्दिन्छ, पार्टी फोर्दिन्छ । त्यस्तो बहुरंगी तालले हिँड्न, नाच्न, नाटक गर्न, बेइमानी गर्न जान्ने पार्टी को हो भनेर सोध्नुस् न । एमाले हो भन्नुपर्छ,’– उनले भने ।

राप्रपाका केही मान्छे माओवादीको जन्मजात शत्रु भएको उनको दाबी छ । माओवादी जनयुद्धले गर्दा नै राजाको सत्ता गएको उनले स्मरण गरे । प्रचण्डले जम्मै भ्रष्टाचार खोज्न लागेपछि अहिले एमाले मुर्मुरिएर बसको उनको आरोप छ ।

‘राप्रपाको केही मान्छे माओवादीका जन्मजात शत्रु हुन् । माओवादी जनयुद्धले गर्दा त्यसको बाजेको सत्ता गयो । आफ्नो सत्ता नै गयो, अनि त्यसले रिस नगरे कसले गर्छ ? त्यस्तै एमाले अहिले मुर्मुरिएर किन बसेको छ भन्दा प्रचण्डले त जम्मै भ्रष्टाचार खोज्ने भए । सबैलाई जेल हाल्ने भए । भष्टाचारी अब बाँकी नरहने भएभन्ने डरले थर्कमान छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्