काठमाडौं,२१ असार । भारतमा हुने विश्वकप २०२३ को छनोटअन्तर्गत जिम्बावेमा भइरहेको खेलमा छनोट हुन स्कटल्याण्डले नेदरल्याण्ड्सलाई २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर नेदरल्याण्डले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७७ रन बनाएको छ । उसका लागि ब्राण्डन म्याकमुलनले शतकिय पारी खेल्दै सर्वाधिक १०६ रन बनाए । ११० बलको सामना गरेका उनले ११ चौका र ३ छक्का हिर्काएका छन् । त्यस्तै कप्तान रिचे बेरिङ्गटनले अर्धशतकिय पारी खेल्दै ६४ रनको योगदान गरेका छन् ।
बलिङतर्फ नेदरल्याण्ड्सका बास डि लिडेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५२ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए ।
आजको खेल जित्ने टिम आउँदो अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा छनोट
हुनेछ । यसअघि श्रीलंका विश्वकपमा छनोट भईसकेको छ ।