काठमाडौं,२२ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बुझाइएको दाबी पत्रमा आफ्नो नाम र हस्ताक्षर प्रयोग भएपछि तिब्र आलोचना र विवाद खेपिरहेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने संकेत गरेका छन् ।
प्रदेश सभाबाट सभामुखमा निर्वाचित भएपछि आफुले प्रतिनिधित्व गरिरहेको दल त्याग गरेको घोषणा गरेका गौतमले नयाँ मुख्यमन्त्रीमा बहुमत जुटाउन संख्या नपुगेपछि बिहीबार आफ्नो नाम र हस्ताक्षर प्रयोग गर्न दिएका थिए ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसक्दा सत्तारुढ दलले सभामुख गौतमको हस्ताक्षर प्रयोग गरेपछि अहिले असन्तुष्टि सिर्जना भएको छ । सभामुख गौतमको उक्त कदमप्रति असन्तुष्टि बढदै गएपछि उनले पदबाट राजीनामा दिनसक्ने जनाउ गरेका छन् ।
मुख्यमन्त्री थापाको सपथ ग्रहण समारोहमा उपस्थित भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले प्रदेशको समिकरण अनुसार आफुले निकाश दिन उक्त कदम चालेको बताएका छन् । ‘गठबन्धनको सरकार बनाउन मैले हस्ताक्षर गरेको हो। मलाई कसैको दबाब थिएन। आफ्नै इच्छाले हस्ताक्षर गरेको हुँ। परिआएमा सभामुख छाड्न सक्छु’, उनले भने, ‘यदि हस्ताक्षर गरेकै कारण कुनै अप्ठ्यारो आएमा नैतिकताको कुरा आउँछ, म राजीनामा दिन सक्छु।’
यसैबीच कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्ति गर्ने प्रदेश प्रमुखको कदमप्रति नेकपा एमाले र राप्रपा सर्वोच्च अदालत गएका छन् । आज निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले रिट दर्ता गराएका छन् ।