Logo

मन्त्री बस्नेत र प्रधानसेनापति शर्माले गरे मेलम्ची बेलिब्रिजको उद्‍घाटन



काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एक विशेष समारोहबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिब्रिजको शुक्रबार संयुक्त उद्‍घाटन गरेका छन्।

मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि स्थानीयवासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा सेनाको सहयोगमा मेलम्ची बेलिब्रिज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गरे।

मेलम्ची बेलीबृज निर्माणमासमेत राजनीतिक दलहरूले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले सेनाका प्रधानसेनापतिलगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि सेनाले जनचाहना अनुसार समयमै बेलिब्रिज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताए।

प्राकृतिक विपत्तिका बेला सधैं सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै स्थानीय बासिन्दाका अन्य समस्याभन्दा बेलिब्रिज सबैभन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताए।

जनताका पक्षमा आफूले सधैं काम गरेकै परिणामस्वरुप मतदाताले आफूलाई गत निर्वाचनमा १२ हजारभन्दा बढी मतान्तरले विजयी बनाएको स्मरण गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बाग्मती प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको दाबी गरे। बेलिब्रिजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र समाजिक दृष्टिले पनि जनजिवन सहज बनाउने मन्त्री बस्नेतले बताए।

कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेना सधैं नेपाली जनताको सुख दु:खमा साथ दिँदै आइरहेको बताउँदै मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए।

प्रधानसेनापति शर्माले सेना नेपाली जनताको साझा सम्पति भएको बताउँदै सेनाले सधैं जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेको बताए।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य मन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताए।

उद्घाटन कार्यक्रममा सिनधुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यक्रर्ताहरु, नागरिक समाज र सर्वसाधारणको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्