Logo

महामन्त्रीद्वयले बोलाएको जिल्ला सभापतिहरुको बैठकमा आएनन् देउवा



काठमाडौं, २३ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधिहरु सहभागी थिए । अन्य जिल्लाका सभापतिहरु वर्षा र बाढी पहिरो लगायतका विविध कारणले उपस्थित हुन नसकेको र उनीहरु जुममार्फत मिटिङमा जोडिएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

पहिलो दिनको बैठकमा पार्टीको सदस्यता, क्रियाशील सदस्यताको सन्दर्भमा प्रविधिमैंत्री व्यवस्थापन तथा विभिन्न तहको सम्मेलनका बारेमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रकाश पारेका थिए । जिल्ला सभापतिहरुले पनि आ–आफ्नो धारणा राखेका थिए । दोस्रो दिनको बैठकमा बाँकी जिल्लाका सभापति र प्रतिनिधिहरुले धारणा राख्दै १४ बुँदे आन्तिरिक प्रतिवद्धता पारित गर्दै समापन भएको थियो ।

बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय थापा र शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बलियो कांग्रेस र बदलिएको कांग्रेस बनाउने संकल्पसहित टुंगिएको उक्त बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् । पार्टी केन्द्रीय कार्यालयमै दुई दिनसम्म चलेको बैठकमा सभापति देउवा सहभागी नहुनुलाई धेरैले शंकालेको दृष्टिले पनि हेरेका छन् ।

पछिल्लो समय सभापति देउवा र महामन्त्रीद्वयबीचको टकराव छताछुल्ल भएको अवस्थामा महामन्त्रीद्वयलेमात्रै जिल्ला सभापतिहरुलाई बोलाएर प्रशिक्षण दिनु अनि सबै जिल्लाले सहभागिता नजनाउनुलाई विशेष रुपमा हेरिएको छ ।

तर, बैठकमा सहभागी भएका कांग्रेस नुवाकोट जिल्ला सभापति रमेश महत भने सभापति देउवासँगको सल्लाहमै बैठक भएको बताउँछन् । महत देउवा निकट जिल्ला सभापति पनि मानिन्छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नुवाकोट जिल्ला सभापति महतले जिल्ला सभापतिहरुले विधानअनुसार कसरी आफ्नो कार्यक्रम अगाडि लैजाने भन्ने विषयमा बैठकमा छलफल भएको र यसमा देउवाको पूर्ण समर्थन रहेको बताएका हुन् ।

‘महामन्त्रीद्वयले कार्यक्रमको समापनमा भन्नुभएको छ, हामीले यो सबै कार्यक्रमहरु पार्टी सभापतिको अनुमतिले उहाँसँगको सल्लाहले पार्टीलाई कसरी मजबुद बनाउने, जिल्ला सभापतिहरुले विधानअनुसार कसरी आफ्नो कार्यक्रम अगाडि लैजाने यो विषयमा छलफलका लागि डाकिएको हो । यसमा हामीले उहाँसँग परामर्श गरेर गरेको हो भन्नु भएको छ,’– नुवाकोट जिल्ला सभापति महतले भने ।



प्रतिक्रिया दिनुहोस्