Logo

महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न



काठमाडौं, २३ असार । महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ।

गत असार २१ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको प्रमुख आतिथ्यतामा गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनमा प्रमुख अतिथि एवं उपकुलपति सिंहले आफू २८ वर्षपछि आफ्नो जन्मस्थल डिल्लीकोट, महावै फर्किदाँ यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ लगायतको क्षेत्रमा उल्लेखनीय परिवर्तन अनुभूति भएको बताए। उनले आफ्नो बाल्यकाल सम्झिदै आफूले कठीन परिस्थितिका बाबजुत शिक्षा हासिल गर्नुपरेता पनि अहिले त्यो अवस्था नरहेको र सम्पूर्ण महावैवासीले आ-आफ्नो छोरा-छोरीहरुलाई विद्यालय भर्ना गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा जुट्नुपर्ने बताए। साथै उनले शैक्षिक क्षेत्रमा रहेका विकृति र पछौटेपनलाई हटाउँदै गुणस्तरीय शिक्षाका लागि सबैले जुट्नु पर्ने बताए।

उपकुलपति सिंहले गाउँपालिका र समग्र कालिकोट जिल्लाको विकासका लागि महावै गाउँपालिकास्थित् लसुनढुङ्गामा स्मार्ट सिटीको निर्माण गर्न गाउँपालिकालाई आवश्यक प्रावधिक सहयोग गर्ने र सोको लागि उक्त क्षेत्रको पहिलो चरणको अध्ययन, अवलोकन तथा सूचना संकलन समेत गरिसकेको जानकारी दिए।

उपकुलपति सिंहकै नेतृत्वमा ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी तथा इञ्जिनियरिङ्गका डीन सह-प्रा. डा. सुदीप ठकुरी, उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप प्रा. पन्चदेव भट्ट, इन्जिनियरद्वय सुनिल तिवारी र विरेन्द्र सिंह सम्मिलित पाँच सदस्सीय टोलीले लसुनढुङ्गा स्मार्ट सिटी अध्ययनको कार्य सुरू गरेको हो।

शैक्षिक सम्मेलनमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अभिभावकबीच अन्तरक्रिया तथा छलफल गरी ८ बुँदे ‘महावै गाउँपालिका बृहत शैक्षिक सम्मेलन घोषणा पत्र – २०८०’ सार्वजनिक गरिएको थियो।

घोषणापत्रमा सामुदायिक विद्यालयहरुको गुणस्तर विकास, सर्वसाधारणको पहुँच, शिक्षक-कर्मचारीको प्रभावकारी सेवा प्रवाह, विभिन्न निकाय बीचको समन्न्वय, व्यवस्थित परिक्षा प्रणाली, आवश्यक पाठ्यसामाग्रीको सुनिश्चितता, त्रैमासिक अभिभावक भेला, आवश्यकताको आधारमा विद्यालयको कक्षा कटौती/समायोजन तथा शिक्षक दरबन्दीको व्यवस्था र पेशागत तालिम संचालन गर्ने विषयमा सामूहिक प्रतिवद्धता गरिएको छ।

समग्र गाउँपालिकाको शैक्षिक सुधार र उन्नयनका लागि आयोजित उक्त सम्मेलनको अध्यक्षता गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्