काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चल्ने हो भने कांग्रेसले २०८४ मा हुने चुनाव नजित्ने दाबी गरेका छन्।
शनिबार कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारको गति यहिँ हुँदा आगामी निर्वाचनमा कांग्रेसले जो सँग गठबन्धन गरेपनि नजित्ने दाबी गरेका हुन्।
उनले भने, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ। कसैसँग डराउनु पर्दैन।’
यस्तै, उनले कांग्रेसले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जुनसुकै नयाँ आएपनि कांग्रेसलाई कसैले केही नगर्न सक्ने बताए। उनले भने, ‘सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ। त्यसैले मुख्य कुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ।’