Logo

संसद् अवरोध गरेर ओलीजीले सत्ताबाट झर्नुपरेको छट्पटी प्रयोग गर्न खोजिरहनु भएको छः घनश्याम भुसाल



काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध गरेर सत्ताबाट तल जर्नुपरेको छट्पटीलाई शक्तिमा प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । आज (शनिबार) पार्टी निकट कानुन व्यवसायीहरुको कार्यक्रममा सहभागी हुनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेको संसद् अवरोध आग्रहपूर्ण रहेको बताएका हुन् । संसद् अवरोधलाई उनले बचपनको संज्ञा दिएका छन् ।

‘संसद् अवरोधको कुरा छ, त्यो एकदमै बचपना कुरा हो, उहाँहरुले जुनखाल्को आरोप लगाउन खोज्नु भएको छ, त्यो प्रधानमन्त्रीले बोलेको कुराले पुष्टि हुँदैन । यो अलिकति आग्रहपूर्ण छ । खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छट्पटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिराख्नु भएको छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकदमै अनौपचारिक भाषा प्रयोग गरेको उनको टिप्पणी छ । आफूले प्रधानमन्त्रीको भाषा औपचारिक र राजनीतिक होस् भन्ने चाहेको बताउँदै उनले हरेक शब्दमा सोचि विचारेरमात्रै बोल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘प्रधानमन्त्रीको भाषा अलि अनौपचारिक भयो । म प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक, राजनीतिक, हरेक शब्द सोचि विचारेर बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । उहाँले आफूलाई अनौपचारिक वचनबाट पछाडि राख्नुपर्छ, ध्यान दिनुपर्छ आगामी दिनमा पनि,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्