Logo

लिङ्देनलाई साथीको फोनः प्रचण्ड इमानदार रहेको भन्दै विरोध नगर्न आग्रह



काठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २०६२/०६३ को राजनैतिक परिवर्तनपछि नेपालको निर्णायकत्व विदेशीहरुको हातमा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित राप्रपा सम्पर्क समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कुन दलको प्रधानमन्त्री बन्ने, दलभित्रको पनि कुन गुटको बन्ने भनेर निर्धारण विदेशबाट हुने गरेको टिप्पणी गरेका हुन् ।

आफूलाई आज विहानै मिल्ने साथीको फोन आएको भन्दै फोनवार्ताको प्रसंग सुनाउँदै उनले भने, ‘मलाई एउटा साथीले विहानै फोन गरेर भन्यो, ओ रोजेन्द्र यो प्रचण्डजीको किन यत्रो विरोध गरेको तपाईले ? म झसङ्ग परेँ । तेत्रो विरोध नगर्नु, त्यो मान्छे त इमानदार रहेछ, त्यस्तो इमानदार मान्छेको विरोध नगर्नु भन्यो । मैले के भो भने । हैन आखिर २०६२/०६३ को राजनैतिक परिवर्तनपछि नेपालको निर्णायकत्व विदेशीहरुको हातमा छ भनेर हामीले भन्दै आएकै हो । नेपालको सरकार कुन पार्टीको बन्नुपर्छ ?  प्रधानमन्त्री को बन्नुपर्छ ? अनि कुन पार्टीको पनि कुन गुटको बन्नुपर्छ भनेर विदेशीहरुले टुंगो लगाइदिन्छन् भनेर हामीले आएकै हौं । कमसेकम अरुले होइन भन्थे । प्रचण्डले त हो भने नि त । दिल्लीले बनाउँछ भनेनि त । यस कारण इमानदार रहेछ दुःख नदेउ । यिनीहरुले यसै गर्छ, यसरी नै बन्छ यो व्यवस्थामा भन्ने त थाहा भएकै कुरा हो नि भनेर भने ।’

सुन्दा ख्याल ठट्टाजस्तो लागेपनि यो सामान्य कुरा नभएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्