Logo

ललिता निवास प्रकरणमा अपराध गरेको भए मैले दण्ड भोग्नैपर्छः माधव नेपाल (भिडियोसहित)



काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ललिता निवास प्रकरणमा आफू आत्तिनु् र डराउनु पर्ने कुनै गल्ती नगरेको बताएका हुन् । जुनसुकै प्रकरणमा देशका सम्पत्तिलाई कसैले लुट्ने काम गरेको छ भने ऊ दण्डको भागिदार हुनुपर्ने उनको भनाई छ । ललिता निवास प्रकरणमा आफूले गल्ती गरेको भए दण्ड भोग्नुपर्ने उनले बताए ।

‘अपराध गरेको छु भने मैले पनि दण्ड भोग्नैपर्छ । मैले अपराध गरेको छैन भने आत्तिनुपर्ने, डराउन पर्ने कुनै कारण छैन । मैले कुनै पनि कुनियत राखेर काम गरेको छैन । एक पैसा लिएको छैन, एक दाम जग्गा पनि लिएको छैन,’– नेता नेपालले भने ।

देशमा भ्रष्टाचार र कुशासन हाबी भएकाले त्यसलाई अन्त्य गरेर सुशासन दिन आवश्यक रहेको उनको भनाई छ । अहिलेको आवश्यकता राजनीतिक स्वच्छता रहेको भन्दै उनले यस कार्यमा आफ्नो पूर्ण समर्थन रहेको पनि बताए । गल्ती गरेको छैन भने डराउन र आत्तिन आवश्यक नरहेको उनको भनाई छ ।

‘गल्ती गरेको छैन भने आत्तिनुपर्ने कुनै आवश्यकता छैन । यो देशमा भ्रष्टाचार र कुशासन हाबी भएको छ । भ्रष्टाचार र कुशासनलाई अन्त्य गरेर सुशासन दिनुपर्छ र राजनीतिलाई स्वच्छ बनाउन पर्ने आवश्यकता छ । यस कार्यमा मेरो पुरा साथ र सहयोग रहने छ,’– उनले भने ।

ललिता निवास प्रकरणमा तत्कालीन मुख्यसचिवको नेतृत्वमा सचिवहरुको संयुक्त बैठक बसेर सरकारी जग्गा र अन्य प्रकारका जग्गा कानुनसम्मत छुट्याएर काम गर्ने निर्णय भएको उनले बताए ।

‘ललिता निवास प्रकरणमा तपाईँको नाम पनि जोडिएको छ नि ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘मैले गरेको निर्णयको सन्दर्भमा सिधै लेखिएको छ, मुख्यसचिवको नेतृत्वमा सचिवहरुको संयुक्त कमिटीले, संयुक्त बैठकले सरकारी जग्गा र अन्य प्रकारका जग्गा कानुनसम्मत ढंगले छुट्याई काम अगाडि बढाउनु । मैले कुनै पनि व्यक्तिलाई दिएको होइन, सरकारी जग्गा र अन्य प्रकारका जग्गा कानुनसम्मत छुट्याएर गर्नु भनेको छ । बदमासी भएको छ भने क–कसले बद्मासी गरेको छ, खोज्नुस् ।’

 



प्रतिक्रिया दिनुहोस्