Logo

एमाले नेता महरको खुलासाः ‘प्रधानमन्त्री प्रचण्डको राजीनामा कांग्रेसले चाहिरहेको छ’



काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता ऐन महरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा कांग्रेसको पनि चाहना भएको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् चल्नका लागि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने र यो कांग्रेसले पनि चाहिरहेको खुलासा गरेका हुन् ।

अहिलको सरकारको नियतमा खोट रहेको उनको आरोप छ । प्रचण्डले आफूलाई अप्ठ्यारो पर्दा विभिन्न काण्ड देखाएर सत्तारुढ दललाई तर्साउने गरेको उनले आरोप लगाए । सरकारले असल नियतका साथ भ्रष्टाचार अन्त्य गर्न अभियान चलाएको खण्डमा एमालेको पनि साथ र सहयोग हुने उनको भनाई छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरण प्रचण्डले सत्तारुढ दललाई साईजमा राख्नका लागि नै खोलेको बताए ।

‘सरकारको नियतमा खोट देखिन्छ । नक्कली शरणार्थी प्रकरण कसैलाई ठीक पार्न ल्याइएको हो । पछि लहरो तन्दा पहरो हल्लिएपछि प्रधानमन्त्रीलाई थामथुम पार्न बाडो सकस पर्यो । बजेट ल्याउनु भयो, बजेटमा केही दलले कुनै पनि हालतमा साथ नदिने भनेपछि बालुवाटार प्रकरण तर्साउनका लागि ल्याइएको कुरा हो । यो नक्कली सरकार छ, यसले छिटो राजीनामा दिनु्पर्छ भनेर हामीले भनिरहेका छौं, खास चाहिरहेको चाहिँ कांग्रेसले छ,’– उनले भने ।

प्रधानमन्त्रीको पदमा बसेर राष्ट्र, सार्वभौम सत्ता र मुलुकको अहितमा हुने प्रधानमन्त्री प्रचण्डले जनताको शिर झुकाउने काम गरेको भन्दै उनले राजीनामा नै विवाद समाधानको अन्तिम विकल्प भएको बताए ।

‘संसद् चल्न पर्छ, चल्न दिने । तर, प्रधानमन्त्रीले राजनीमा दिनुपर्यो । प्रधानमन्त्रीको पदमा बसेर राष्ट्रको, सार्वभौम सम्पन्न मुलुकको अहितमा हुने गरी जनताको शिर झुकाउने गरी पदीय मर्यादाको ख्याल नगरी जथाभावी बोल्ने कुराले पदीय मर्यादा कायम हुन सक्दैन । सरकारको नेतृत्व गर्न सक्दैन, त्यसकारण राजीनामा दिनुपर्छ भन्ने कुरा हो । संसद् खुलाउनका लागि पनि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नपर्यो भन्ने कुरा हो,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्