Logo

प्रतिनिधि सभाको बैठक बस्दै,एमालेले अवरोध नगरे यस्तो छ आजको कार्यसूची



काठमाडौं,२५ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गरेपछि बैठकको कार्यसूची प्रभावित हुँदै आईरहेको छ ।

आइतबारका लागि बोलाइएको बैठक दुई पटक सूचना टासेर आजका लागि सारिएको थियो । संसद सचिवालयका अनुसार आज दिउँसो तीन बजे बस्ने बैठकमा विभिन्न विधेयकहरु सदनमा पेस हुनेछन् ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक-२०८० टेबुल हुने सम्भावित कार्यसूची छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक-२०८० पेस गर्ने, राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र विधेयकमाथिका संशोधनहरुलाई आजै निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा रहेको छ।

गत सोमबार काठमाडौंमा भएको एक पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी सरदार प्रितम सिंह धेरैपटक दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिको चौतर्फी आलोचना भईरहेको छ भने प्रतिपक्षी दलहरुले राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्