Logo

प्रधानमन्त्री प्रचण्डलाई बास्कोटाको प्रश्नः ‘लेन्डुपलाई विर्साउन खोजेको हो ?’



काठमाडौं, २५ असार । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएर संसद्को गतिरोध अन्त्य गर्नका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई दिएर राजीनामा मागेका हुन् ।

‘नेपाली जनतालाई आश्वस्त पार्ने जवाफ आउँछ, आउँदैन हाम्रो पर्खाई त्यो हो । उहाँले आफूले देशको प्रधानमन्त्रीको रुपमा उभिएर के कुरा लिएर हिँड्नु भएको छ ? के कुर्डविन उईस्लिङलाई विर्साउन खोजेको हो ? मोरियार्टोलाई विर्साउन खोजेको हो ? लेन्डुपलाई विर्साउन खोजेको हो ?’ उनले प्रश्न गरे ।

साथै, उनले प्रधानमन्त्री प्रचण्डलाई केरङ्ग झण्डा उचाल्ने हो कि चन्द्रसूर्य झण्डा उचाल्ने भन्नेबारे संसद्लाई प्रष्ट पार्नसमेत आग्रह गरे । दुई करोड ९१ लाख जनतालाई हाम्रो प्रधानमन्त्री हामीले बनाएको हो भन्ने विश्वास दिलाउन समेत उनको चुनौति रहेको छ । ‘तपाईँले केरङ्ग झण्डा उचाल्ने हो कि चन्द्रसूर्य झण्डा उचाल्ने हो ? भन्नुपर्यो यो संसद्मा,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्