Logo

प्रधानमन्त्रीले गल्ती स्वीकार गर्नु राजीनामा सरह नै होः एमाले महासचिव पोखरेल (भिडिओसहित)



काठमाडौं, २६ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले गल्ती स्वीकार गर्नु पनि राजीनामा सरह नै भएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले प्रधानमन्त्रीको राजीनामा वा गल्ती स्वीकार गर्नु पर्ने माग राखेको र प्रधानमन्त्रीले प्रचण्डले दोस्रो विकल्प अपनाएको बताएका हुन् ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नै राष्ट्रिय गरिमालाई आघात पुर्याउने, संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्ने र नेपालको राजनीतिलाई अस्थिर बनाउने प्रकारका क्रियाकलाप गरेपछि आफूहरुले विरोध गरेको उनले बताए ।

अभिव्यक्तिलाई लिएर विश्वका कयौं देशमा प्रधानमन्त्रीहरुले राजीनामा दिएको स्मरण गराउँदै उनले भने, ‘प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्दथ्यो वा गल्ती स्वीकार गर्नुपर्दथ्यो । त्यस अर्थमा प्रधानमन्त्री गल्ती स्वीकार गर्न तयार भएपछि त्यो विषयबाट निकास पाउने स्थिति उत्पन्न भयो । एउटा मुलुकको प्रधानमन्त्रीले मैले गल्ती गरेँ भन्छ भने त्यो पनि राजीनामा सरह नै हो ।’

‘राजीनामाबाट तपाईँहरु व्याक हुनुको पछाडि लेनदेन छ ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘छैन । हामीले दुईवटा कुरा गरेका थियौं, तपाईँले यो अभिव्यीक्तका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस् वा गल्ती स्वीकार गर्नुस् । उहाँले दोस्रो बाटो रोज्नुभयो । गल्ती स्वीकार गर्नुभयो र आफ्नो पदको रक्षा गर्नुभयो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot