काठमाडौं,२६ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धमा परेको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।
गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै उत्प्रेष्णको आदेशद्धारा बदर गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आइतबार उक्त रिट न्यायाधीश डा आनन्दमोहन भट्टराई,सोमबार सुष्मालता माथेमा र आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भएपनि समय अभाव भन्दै हेर्न नभ्याइनेमा राखिएको हो ।
मुख्यमन्त्रीमा नियुक्त हुन आवश्यक बहुमत जुटाउन नसकेपछि माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर र समर्थनसहित मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री कार्की अदालत गएका हुन् ।