काठमाडौं,२६ असार । सोलुखुम्बुमा बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा निधन भएका ६ जनाको शव लिन गएको हेलिकप्टर दुर्घटनास्थलमा पुग्न कठिनाइ भएको छ ।
खराब मौसमका कारण लिखुपिके गाउँपालिका-५ लामजुरा डाँडास्थित दुर्घटनास्थलमा अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर पुग्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार शव लिन गएका दुईवटा हेलिकप्टर सोलुखुम्बुकै भकान्जेमा अवतरण गरिएको छ । लामाजुराको मौसम खराब भएको कारण गाडिमा राखेर शव भकान्जेसम्म ल्याउने तयारी भईरहेको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबै ६ जनाको निधन भएको थियो ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार सबै ६ जनाको शव प्रहरीले संकलन गरेको छ ।
तस्बिर स्रोत : क्याप्टेन एन्डी थापा