काठमाडौं,२६ असार । नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट विनियोजनमा नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमा बजेटमाथिको छलफलमा आफ्ना धारणा राख्ने क्रममा चितवनको माडी नगरपालिकामा ९ वटा मात्रै वडा भएको तर बजेट १० वडामा विनियोजन गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
‘चितवनको माडीमा ९ वटा वडा छ तर १० औं वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिंचाइ मन्त्रालयअन्तर्गत भएको छ । ९ किलो सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ,’ उनले भनिन् ।
देश संघीयतामा गइसकेपछि पनि संघबाट नै लाखको योजना गइरहेको भन्दै उनले आपत्ति जनाइन् ।
बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्नेसमेत उनले बताइन् । ‘एकातिर बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ, उनले भनिन् ।