Logo

साहित्य-वार्ता: आफ्नो रचना सरकारी पाठ्यक्रममा पर्दा धेरै खुसी भइयो



  • नेत्र तामाङ
    जन्मस्थानः इन्द्रावती गाउँपालिका–४ नवलपुर, सिन्धुपाल्चोक
    अध्ययनः आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर
    प्रथम प्रकाशित रचनाः फिरफिरेको बिहे (२०६७)
    प्रकाशित कृतिहरूः हजुरआमालाई उपहार (२०७०), कालो बिरालो (२०७१), बहुलाएको रुख (२०७३), बोजराज र बाउन्ने (२०७३) सर्प र न्याउरीको खेल (२०७४) फुर्वाको फार्म (२०७४) फुर्वाको फोटो (२०७७) डोमु र लमु सिरिज १ देखि ४ सम्म द एसिया फाउन्डेशन, छठ टीकटक बालविसंकेतनमाला, गोगने गोमन बालविसंकेतनमाला, मोबाइलको फूर्ति बालविसंकेतनमाला, उषाको ठोटरी बालविसंकेतनमाला, सेलबोन (भिडियो कथा), पाहाको तेल (भिडियो कथा), लाले र काले (भिडियो कथा), सालक र बालक (भिडियो कथा) र बोगाल गिक बिजाराप (तामाङ बालकथासंग्रह)

प्रकाशनोन्मुख कृतिः किशोर उपन्यास

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

२०६७ माघबाट बाल साहित्य लेखनमा पाइला चालेँ । त्यही वर्ष नागरिक दैनिकको बालअंक जूनकीरीमा पहिलो बालकथा फिरफिरेको बिहे प्रकाशन भएको हो । त्यसअघि अलि÷अलि कविता लेख्थें ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

नागरिक दैनिकको जूनकीरीमा हरेक हप्ता एउटा बालकथा छान्ने जिम्मा हुन्थ्यो मेरो । थुप्रै कथा आउँथे प्रकाशनका लागि अनुरोधसहित । बजारमा आएका बालकथाका नयाँ किताब पढेर तिनका बारेमा लेख्ने पनि मेरो जिम्मेवारी थियो । ती कथा छान्ने क्रममै कतिबेला कथा लेख्न थालेछु पत्तै पाइनँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

खेतीपाती नै लेखन हो । हलो–कोदालो चलाउन छाडेर लेख्न थालेकोले दिनको सुरूवात र अन्त्य पनि लेखेरै हुन्छ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

लेखन जहिल्यै असन्तुष्ट पेशा हो । केही न केही कमी हुन्छ । कहिले अनुसन्धान पुग्दैन त कहिले समय । जब प्रकाशन भएर आउँछ । तरकारी पस्कँदा कहिले बेसार बढी भएझैं त कहिले नून नपुगेझैं खल्लो हुनु स्वाभाविक हो । फेरि सन्तुष्ट भए अर्को रचना तयार पार्ने जाँगर पनि चल्दैन नि !

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

किशोर उपन्यास प्रकाशन हुने तयारीमा छ । बोन संस्कृतिको शक्ति र यसमा बालबालिकाका रुचिको विषय समावेश गरिएको छ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छजस्तो लाग्छ ?

राष्ट्र यदि सरकार हो भने साहित्य र स्रष्टाप्रति यसको जिम्मेवारी प्रशस्तै हुन्छ । तर सरकारले यो फल्न फुल्न एकेडेमी, कोर्स बुक, विभिन्न प्रतियोगितादेखि प्रकाशनसम्मका प्लेटफर्म तयार गरिदिएका छन् । यसमा लेखक आफू कतिको खेल्न र कुद्न सक्छ– यो स्वयं लेखकको ‘मार्केटिङ’मा भर पर्छ । लेखकलाई साधारण जीवनबाट केही माथि उकास्ने हो भने राज्यले पनि मार्केटिङ गरिदिनु आवश्यक पर्छ

तपाईंको साहित्यिक आदर्श के हो ?
बालबालिकालाई मनोरञ्जनात्मक तरिकाबाट साहित्यमार्फत ज्ञानबर्धक खुराक दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
सबैका आ÷आफ्ना प्याटर्न हुन्छन् । इमानदारीले मात्र उचाइमा पुगिन्छ भन्ने हेक्का सबैलाई हुन्छ । त्यसैले आफ्नो विम्ब त लेखाइमा आइहाल्छ ।

तपाईंआफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
एउटा कृतिबाट सन्तुष्ट हुने हो भने अर्को कृति तयार नै गर्न सकिँदैन । अघिकै कुरा जोड्दै मलाई लाग्छ हरेक लेखक कहिल्यै सन्तुष्ट हुन्न ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
पहिले साहित्य मानिसमा सीमित थिए । मानिसले मानिस हेरेर सिक्थे । पछिल्ला किताबमा धर्म, युद्ध र प्रेमका कुरा आउन थाले । साहित्य लिपिबद्ध हुन थाल्यो । दृश्य चलचित्र हुँदै अहिलेको संसारमा डिजिटल प्रविधि छिरिसक्यो । अब त हेरेर सिक्नेभन्दा आफ्नो अर्ती अरूले सुनोस् भन्ने चलन बढेको छ । अहिले अक्षर र चलचित्र साहित्यभन्दा आत्मप्रचारमा बढी केन्द्रित छ– जसले गर्दा साहित्यले आफ्नो पकड गुमाउँदै लगेको छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

ठ्याक्कै सिद्धान्त मान्ने दिन अब गइसक्यो । कसैले बुनेको स्विटर अर्कोले लगाउन मन गर्छ । उसले लगाएको देखेर अरूलाई पनि लगाऔँ÷लगाऔँ लाग्छ । हो यस्तै मिठो होस् न साहित्य । तर यही शैलीमै घोक्रेठ्याक लगाउन त सकिन्न । किनभने कतिलाई त उध्रेको स्विटर नै पनि मन पर्न सक्छ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?

अभावले । बालबालिका खानामा मात्र हैन– कन्टेन्टमा पनि खन्चुवा हुन्छन् । उनीहरूलाई क्षणमै नयाँ कन्टेन्ट चाहिन्छ । यही कुराको अभाव छ नेपाली बाल साहित्यमा ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
बालकथा लेखनमा कुनै निश्चित समय हुन्न । मनमा कथा बुन्न थालेपछि कल्पिँदै पूरा हुँदै जान्छ । यात्राका क्रममा र काम गर्ने क्रममा । प्लट तयार भएपछि टाइप हुन थाल्छ । त्यसपछि धमाधम अघि बढ्छ लेखनको काम ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
म त्यस्तो मुडी छैन ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
बालबालिकाका रुचि । उनीहरूले राख्ने जिज्ञासा । साझा समस्याहरू । विज्ञान र धर्म । संस्कार, विज्ञान, मनोविज्ञान र प्रविधि जोडेर कथा लेख्न मन पराउँछु ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
धेरै अनुसन्धान, अत्यधिक अध्ययन ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
कविता र कथा ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
दुवै चाहिन्छ । तर बढी काल्पनिक नै । किनभने सजीवताले विगत जोड्छ । काल्पनिकताले भविष्य । हामीले भविष्यलाई नै प्राथकिमतामा राख्नुपर्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
अरूका कथा पढेपछि । कक्षाकोठामा बालबालिकाका कोर्स हेरेपछि ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
अरूका सुझावको पछि लागेर लेखक बन्न सकिन्न ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
लेखक पनि स्वतन्त्र प्राणी हुन् । राजनीतिक दलको झण्डामुनि ओत लाग्न जानु उसको स्वतन्त्रता हो ।

लेखनको क्रममा सबैभन्दा बढी खुसीको क्षण ?
आफ्नो रचना सरकारी पाठ्यक्रममा पर्दा । जम्बियाङको जन्मदिन शीर्षकको कथा कक्षा ५ को अनिवार्य नेपालीमा पर्दा निकै खुसी लागेको छ । छापिएको किताब हात पर्दा झनै खुसी । कक्षा ४ मा निजी विद्यालयमा पनि यसै वर्षदेखि परेको छ । यो पनि निकै खुसीलाग्दो क्षण थियो ।



प्रतिक्रिया दिनुहोस्