काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै दायर भएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ ।
मुख्यमन्त्री नियुक्त हुन बहुमत नपुगेपछि थापपाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
सरकार बनाउने खेलमा सभामुखलाई प्रयोग गर्नु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
कार्कीले रिटमा मुख्यमन्त्री थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ को उपधारा तीन अनुसार आफुलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।
उक्त रिट सुनुवाईका लागि आइतबार न्यायाधीश डा आनन्दमोहन भट्टराई,सोमबार न्यायाधीश सुष्मालता माथेमा र मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेपनि अन्तिममा हेर्न नभ्याईनेमा परेको थियो ।