Logo

कोशीका मुख्यमन्त्री थापालाई राहतः सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार



काठमाडौं, २७ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ । आज (बुधबार) न्यायाधीश सपना प्रधान मल्लाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।

कोशी प्रदेश सभामा कुनै दलको पनि बहुमत छैन । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट बहुमत गुमाएपछि उनी पदमुक्त भएका थिए । कार्की पदमुक्त भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको समय सीमा दिएर सरकार गठनका लागि आह्वान गरेका थिए ।

नेकपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका उद्धव थापाले प्रदेश सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा बहुमत पुर्यार सरकार गठनका लागि दाबी पेश गरेका थिए । दाबी पेश गरेकै दिन मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति गैरसंवैधानिक रहेका भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा वारेसमार्फत रिट दर्ता गराएका थिए ।

सर्वोच्चले विपक्षीको नाममा सात दिनको समय सीमा दिएर साउन ३ गतेभित्र लिखित जवाफ पेश गर्न भनेको छ । निवर्तमान मुख्यन्त्री कार्कीले मुख्यमन्त्रीको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) बमोजिम सरकार गठनको माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्