काठमाडौं,२८ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले आज यस प्रकरणमा संलग्न भएको आरोपमा केशव तुलाधरलाई पक्राउ गरेको छ ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा ३० जना व्यक्तिविरुद्ध प्रहरीले विभिन्न आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
प्रहरीले मुद्दा दायर गरेका ३० जनामध्ये हालसम्म १९ जना पक्राउ परिसकेका छन् जसमा दुईजना धरौटीमा रिहाई भइका छन् भने १६ जना कारागार चलान भएका छन् ।
यस प्रकरणमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो।
अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन्। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो।