Logo

केन्द्रीय सदस्य महर भन्छन्, ‘कांग्रेस सुधारको एउटै औषधी विधानको अक्षरस पालना’ (भिडियोसहित)



काठमाडौं, २९ असार । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी साउन २ गतेदेखि बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सुधारको बारेमा निर्मम समीक्षा हुने बताए । पार्टी सुधारको एकमात्र विकल्प विधानको अक्षरस पालना गर्नु रहेको उनको भनाई छ ।

‘नेपाली कांग्रेसभित्र व्यापक सुधारको आवश्यकता छ । निर्मम समीक्षाको आवश्यकता छ । यो बारेमा हामी कांग्रेस केन्द्रीय कार्यसमितिको २ गतेदेखिको बैठकमा निर्मम समीक्षा गरेर कार्यान्वयनतिर हामी जान्छौं । नेपाली कांग्रेसलाई सुधार गर्ने बाटोको एउटैमात्रै औषधी हो विधानको अक्षरस पालना,’– नेता महरले भने ।

कांग्रेस केन्द्रीय समिति बैठकमा विधानको अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता र निर्णय हुने सम्भावना रहेको उनको भनाई छ ।
कार्यसम्पादन समितिको हरेक निर्णयलाई केन्द्रीय समितिको बैठकले पास गर्नपर्ने विधानमा व्यवस्था भएपनि त्यसको अभ्यास नभएको उनको गुनासो छ । साथै, विधानले दुई–दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने भनेपनि त्यो समेत कार्यान्वयनमा नआएको भन्दै उनले आपत्ति जनाए । एक वर्षभन्दा बढी समयपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

साथै, केन्द्रीय कार्यालयले जिल्ला सभापतिहरुको बैठक राख्दा केन्द्रीय कार्यासमितिलाई जानकारीसमेत नदिएको उनको आरोप छ । उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासका भावनाहरु माथि कुल्चिने प्रयास गर्ने र विधान कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको बताए ।

साथै, आगामी केन्द्रीय कार्यासमितिको बैठकले भातृ संस्थाको पूर्ण आकार दिने काम गर्ने उनको दाबी छ । आठ वर्षसम्म तरुण दलको महाधिवेशन हुन नसकेको भन्दै उनले अबको तरुण दल ठूलो आकारको बन्ने बताए ।

विधानले पार्टी सभापति, उपसभापति, महामन्त्रीदेखि सदस्यसम्मलाई आफ्नो जिम्मेवारी दिएको भन्दै उनले पार्टी संसदीय दलको नेता परिवर्तन र विशेष महाधिवेशनको अहिले सम्भावना नरहेको बताए । विशेष महाधिवेशन भनदा पनि समयमै महाधिवेशन गर्ने र कांग्रेसलाई बलियो पार्टी बनाएर अगाडि लैजान पर्ने उनको जोड छ ।

उनले कांग्रेसलाई अपडेट गरी समय सान्दर्भिक र समसामयिक तरिकाले हिड्ने पार्टी बनाउन आवश्यक रहेको बताए । आफू निर्वाचन अघिको गठबन्धनको खिलापमा रहेको बताउँदै उनले २० वर्ष प्रतिपक्षमा बस्न परेपनि चुनावअघि अरुको वैशाखी टेक्न नहुने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot