काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राज्यमा अराजकता बढेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) भानु जयन्तीको अवसरमा पार्टी निकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भानुभक्तको समयको तलनामा अहिले राज्य बलियो भएपनि भक्तिरस पनि भंग भएको र नैतिक रस पनि नभएको बताएका हुन् ।
भानुभक्तको रचनामा प्रगतिशीलता, समाजमा उल्लेख्य सुधारको उद्घोष, आह्वान जस्ता कुराहरु नभएपनि एउटा रामायणको अनुवादले पनि नेपाली समाजमा गुण लगाएको उनको दाबी छ । भानुभक्तले समाजलाई थितिमा, मूल्यमा र नैतिकतामा बाध्नका लागि चेतनाले भ्याएसम्म प्रयास गरेको बताउँदै ओलीले भने, ‘भक्तिरसतर्फ समाजलाई डोहो¥याउने कुराले राज्य कामजोर भएका बेला, अहिले राज्य त्यसबेलाको तुलनामा कता हो कता मजबुद छ । तर, पनि भक्तिरस पनि भंग भयो, नैतिक रस पनि छैन । भक्ति पनि समाप्त भयो । भगवानसँग पनि टेर्न छोड्यो मान्छे ।’
अहिले समाज अलि भद्रगोल, अराजकता, जथाभावी बोल्ने कुरा, सत्य नचाहिने, असत्य बोलेर, असत्य बोल्दाखेरी आनन्द मान्ने, असत्यको बाटो अवलम्बन गर्दा गौरव गर्ने बाटोमा लागेको भन्दै उनले दुःख व्यक्त गरे । समाजमा झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको उनको भनाई छ । यस्तो परपीडक प्रवृत्ति भन्दा कसैलाई पीडा नदिने खाल्को प्रवृत्ति भक्तिरस नै ठीक हुने उनको भनाई छ ।