काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई नसुत्न आग्रह गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक यादवले सिँचाईमन्त्री बस्नेतलाई नसु्त्न आग्रह गर्दै मधेस प्रदेशलाई पनि हेर्न आग्रह गरेका हुन्।
उनले भने, ‘तपाईं नसुत्नुस्, तपाईं काठमाडौँमुखी नहुनुस्, काठमाडौँको चार किल्लाको दायरामा नरहनुस्। तपाईं मधेसलाई पनि हेर्नुस्, त्यहाँको सिँचाईको अवस्थालाई पनि हेर्नुस्। त्यहाँका जनता कति मारमा छ त्यो पनि हेर्नुस्। काठमाडौँमा बसेर, मन्त्रालयमा बसेर हुँदैन। सिंहदरबारको आँखा गाउँतिरपनि जाओस्, मधेसतिर पनि जाओस्। आज रोपाईको बेलामा किसानको बिउँहरू सुकिरहेको छ, पानी छैन भने अब रोपाई कसरी हुन्छ?’