काठमाडौं, २९ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कुवेत जान लागेका १ सय १७ नेपालीलाई अध्यागमन कार्यालयले विमानस्थालबाट त्यत्तिकै फिर्ता गरेको विषयमा गम्भीर आपत्ति जनाएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलन गरेर अध्यागमन कार्यालयका कर्मचारीले भिसा हेर्न नजान्दा कुवेत जान लागेका ११७ जना श्रमिकलाई रोकेको दावी गरेको छ।
संघका अध्यक्ष राजेन्द्र भन्डारीले विभागका नयाँ कर्मचारीले भिसा हेर्न नजानेको र केही कर्मचारीले रोक्ने र दुख दिने मनसायले नै कुवेत जान सबै प्रक्रिया पूरा गरेर विमानस्थल पुगेका श्रमिकलाई रोकेको आरोप लगाए।
भण्डारीले मेनपावर कम्पनीको गल्ती देखिएको भए देखाउन खुल्ला चुनौती दिँदै मेनपावर कम्पनीको गल्ती नदेखिदाँ पनि शंका लागेको भरमा घरबाट खाँदा र माला लगाएर गएका कामदारलाई रोक्ने काम गरिनु गलत भएको जनाउदै अध्यागमनका कर्मचारीसँग क्षतिपूर्ति माग्ने बताए।
संघका अध्यक्ष भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत जान रोकिएको भन्दै त्यसबाट मेनपावर व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको बताए। उनले सरकारको एउटा निकाय वैदेशिक रोजगार विभागले भिसा जाँच गरेर अनुमति दिने र अर्को निकायले रोक्ने काम गरिएको भन्दै यसमा गलत मनसायय पनि रहेको दावी गरे।
कुवेत जान लागेका कामदारहरुलाई कम्पनीहरुले प्रति टिकट ६० हजार रुपैयाँ तिरेर टिकट काटिदिएको तर, श्रमिक रोकिएपछि जहाज श्रमिक नबोकी कुवेत गएकाले त्यो पैसा अध्यागमन वा कर्मचारीले भर्पाइ दिनुपर्ने मेनपावर व्यवसायीको माग रहेको छ।
पत्रकार सम्मेलनमा संघका महासचिव मेघनाथ भुर्तेलले भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि श्रमिकहरुलाई एयरपोर्टमा अनावश्यक दुःख दिने र रोक्ने काम गरिएकोमा गम्भीर आपत्ती जनाउँदै त्यस्ता कर्मचारीलाई तत्काल कार्वाही गर्दै पीडित कामदारहरूलाई क्षतिपूर्तीको माग गरे।