काठमाडौं, २९ असार । एमाले नेता महेश बस्नेतले खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाई हुनुपर्नेमा जोड दिए।
स्वच्छ खानेपानी खान पाउनुपर्ने जनताको नैसर्गिक अधिकार भएकाले केयुकेएलले खानेपानी शुद्धिकरणमा विशेष ध्यान दिनुपर्ने बताए। खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने विषयमा जोड दिँदै उनले मेलम्चीको खानेपानीलाई समेत प्रशोधन गरी भक्तपुरका सम्पूर्ण क्षेत्रहरुमा वितरण गर्नुपर्नेमा जोड दिए।
‘स्थानीयवासीलाई वितरण गर्ने खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाईमा विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘केयुकेएल मध्यपुरले स्थानीय पानीको स्रोतमात्र प्रयोग गरेको छ। आगामी दिनमा मेलम्चीको खानेपानीलाई समेत जोडेर खानेपानीको समस्या समाधान गर्नुपर्छ।’ खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने, तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने विषयमा उहाँले केयुकेएलका प्रतिनिधिहरुलाई सचेत गराए।
नेता बस्नेतले मध्यपुर नगरपालिकाबाहेक मेलम्चीको खानेपानी नपुगेको सूर्यविनायक नगरपालिकाका वडा नं. १ देखी ७ सम्मका सम्पूर्ण वडाहरुमा तत्काल मेलम्चीको खानेपानी वितरण गर्नुपर्नेमा जोड दिए। खानेपानी वितरणको लागि उक्त क्षेत्रहरुमा ट्याङ्की निर्माण भइसकेको जानकारी गराउँदै उनले उक्त ट्याङ्कीमा स्टोर गरी तत्कालको लागि खानेपानी वितरण गर्न सकिने उनले सुझाव दिए।
जवाफमा केयुकेएका प्रतिनिधिहरुले आवश्यक प्रकृया पुरा गरी चाँडै सूर्यविनायकका १ देखि ७ वटै वडाहरुमा खानेपानी वितरणको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए। पाण्डुबजारमा निर्माण गरिएको ट्याङ्कीबाट सूर्यविनायक क्षेत्रका वडाहरुमा खानेपानी वितरण गर्न सकिने स्पष्ट पारे।