Logo

परिवर्तन अभियान नेपालले गर्यो एसईई उत्तीर्ण विद्यार्थी र विद्यालयलाई सम्मान



काठमाडौं, ३० असार । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ।

शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो।

यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मी पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरिएको हो। छात्रतर्फ जेशन गौतमलाई पनि विशेष सम्मान गरिएको छ।

यस्तै, सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरिएको हो।

पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिए।

कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न सुझाव दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसार विषय छनोट गर्न आग्रह गर्दै त्यसमै केन्द्रीत भएर आफ्नो लक्ष्य प्राप्त गर्न सुझाव दिए। उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको धारणा राख्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए।

यस्तै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रमहरु अघि सारेको बताए। उनले हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव रहेको उल्लेख गर्दै नगरपालिकाले सोहीअनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताए।



प्रतिक्रिया दिनुहोस्