Logo

भ्रष्टाचारी थुन्न अर्को जेल बनाउन परे पनि सरकारले कसैलाई छोड्दैनः सुवोधराज शेर्पाली



काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार २०६५ साल यताकै उत्कृष्ट सरकार भएको दाबी गरेका छन् । रिपोर्टर्स नेपालको ‘रिपोर्टर्स संवाद’ कार्यक्रममा पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले भ्रष्टाचारले खोक्रो भएको देशलाई प्रधानमन्त्री प्रचण्डले पुनर्जीवन दिने प्रयास गरिरहेको बताए ।

प्रचण्ड गणतन्त्र नेपालको विचारकसमेत रहेको उल्लेख गर्दै उनले प्रचण्डको कार्यकालमा कार्यकाल देशलाई अन्धकारबाट मुक्त गराउने, देशको कुना–कुनामा सञ्चार सुविधा पुर्याउने, सडक सञ्जालको विस्तारको रुपमा मध्यपहाडी लोकमार्ग निर्माण गर्ने काम धेरै दुरागामी सोचका काम भएको दाबी गरे । अहिलेको सरकारको स्प्रिटमा काम गर्ने अर्को सरकार नआउने उनको दाबी छ ।

‘आज तेस्रो कार्यकालमा आउँदैगर्दा देश भ्रष्टाचारीहरुले चुर्लुम्म निलिसके । देश खोक्रो छ । यो खोक्रो देशलाई जीवन दिनलाई प्रचण्डले आँट, संकल्प र योजना बनाउनु भएको छ, यो सरकारको स्प्रिटमा काम गर्न अर्को सरकार सायद नआउला,’– उनले भने ।

अहिलेको गठबन्धन सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि काम गरिरहेको उनको दाबी छ । भ्रष्टाचारीलाई थुन्नका लागि अर्को जेल नै बनाउन परेपनि प्रचण्ड नेतृत्वको सरकार यो कामबाट पछि नहट्ने उनको भनाई छ ।

‘अहिले बनेको संयुक्त सरकारले अब यो देशमा सुशासन कायम गर्ने, भ्रष्टाचारीहरुको कत्लेआम नै गर्ने, भ्रष्टाचारीलाई थुन्नलाई पाँच सात सय अट्ने जेलको व्यवस्था गर्ने गरी भवनहरु बनाउन किन नपारोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्