काठमाडौं, ३१ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन्।
“चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्न राजनीति दलहरू जिम्मेवार हुनुपर्छ”, आइतबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, “विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरु गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुनु आवश्यक छ ।”
आइतबार भेरीगङ्गा नगरपालिका–८ मा लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको बताए। “सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ”, उनले भने, “आयोगमार्फत जतिसक्दो चाँडो लालपूर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौँ।”
उनले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताए। “एक–डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरू वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ”, उनले भने, “कोही पनि नेपाली नागरिक भूमिहिन भएर बस्नुपर्ने अवस्था हुँदैन।”