Logo

कांग्रेसभित्र भद्रगोलः देउवाको यथास्थितिवादी सोचले पार्टी बन्धक बनेको आरोप



काठमाडौं, १ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवाको कारण पार्टी थयास्थितिमा रुमलिएको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति देउवाको जडतावादी सोचले पार्टी पोखरीमा जमेको पानीजस्तो भएको टिप्पणी गरेका हुन् ।

‘हामी यथास्थितिमै रहने कि पार्टीभित्रको यथास्थिति सोचबाट अगाडि बढ्ने ? खासगरी नेपाली कांग्रेसमा जुन जडता देखिइरहेको छ, खाली त्यो जमेको पोखरीजस्तो । विचारको हिसाबले हामी अगाडि बढिरहेका छैनौं । सबैभन्दा विडम्बना, एक वर्षदेखि हामीले बैठक नै गरिरहेका छैनौं । विधानले तोकेका थुप्रै विषयहरु छन्,जुन अहिलेसम्म हुन सकेको छैन,’– शिवाकोटीले भने ।

अहिले पार्टी केन्द्रीय समिति बैठक बोलाउन पनि सार्वजनिक मञ्चबाट बोल्न पर्ने अवस्था आएको उनले बताए । कांग्रेसभित्र टेक्ने, समाउने र आशलाग्दो कुनै ठाउँ नै नरहेको उनको भनाई छ । सभापति देउवाको असक्षमताको कारण पार्टीभित्र विभिन्न गुट उपगुटको विकास भएको उनको दाबी छ । केन्द्रीय सदस्य शिवाकोटीले देउवाले पार्टीभित्र काम गर्न नसकेको र पार्टीलाई चलायमान बनाउन नसकेको कारण नै अहिले विभिन्न गुट उपगुट सकृय भएको बताए ।

‘टेक्ने, समाउने र आशा लाग्ने ठाउँ नै नभएपछि मान्छे बोल्न थाल्यो । हामीले नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएर आएपछि जुन ढंगले काम गर्नुपर्ने थियो, त्यो काम भएन । त्यो काम सभापतिले गर्न सक्नुभएन । र उहाँले परिचालन पनि गर्न सक्नु भएन । काम गर्न नसक्ने, पार्टीको मोविलाईजेसन गर्न नसक्ने भएपछि बाहिर फोरमहरु चल्न थाले,’– उनले भने ।

रुपान्तरणको नाममा पार्टीभित्र अहिले तीन चारवटा समूहहरु विभिन्न ढंगले क्रियाशील रहेको उनको दाबी छ । सभापति देउवाको विचारमा जोडिएका कांग्रेसहरुले यथास्थितिलाई नै स्वीकार गरेको उनको आरोप छ । साथै, महामन्त्रीद्वय पनि आफ्नै ढंगले पार्टी रुपान्तरणको तयारीमा रहेको उनको दाबी छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्