Logo

साहित्यकार घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह बजारमा



काठमाडौं, १ साउन । साहित्यकार रेवतीप्रसाद घिमिरेको ‘भावनाका रङ्गहरु’ कविता संग्रह विमोचन भएको छ । विमोचन साहित्यकार डा.गोविन्दराज भट्टराईको प्रमुख आथित्यतामा विद्या शीलप एकेडेमी दमकमा सम्पन्न भएको हो । घिमिरेको कविता कृति ‘भावनाका रङ्गहरु’ को प्रमुख अतिथि प्रा.डा. भट्टराई, साहित्यकार खेमलाल पोख्रेल ,प्राध्यापक अन्जना शर्मा ,लेखक रेवती घिमिरेले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.भट्टराईले आफूले अध्यापन गराएको विद्यार्थीले यस किसिमको कार्यक्रम गरेर कृति विमोचन गराउँदा गौरवान्वित महसुस गरेको बताए । उनले घिमिरेको रचनामा आञ्चलिकता रहेको भन्दै प्रशंसा गरे । प्रमुख अतिथि भट्टराईले दमकमा भए गरेका साहित्यिक गतिविधि प्रति चिन्ताप्रकट गरे । स्थानीय सरकार र केहि झोले साहित्यकारहरुका कारण दमकको साहित्य धरापमा रहेको उनको दाबी छ ।

कार्यक्रममा लेखक रेवतीप्रसाद घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अधिकांश वक्ताहरुले झापामा हुनेगरेका साहित्यिक कार्यक्रमहरुमा जात र राजनीतिको रङ लगाएर साहित्यलाई धमिल्याएको भन्दै दुःख व्यक्त गरे ।साहित्यकारहरु टंक पाठक ,जयप्रसाद आचार्य, बिन्दु दहाल, झाक्री खोले, लक्ष्मी खनाल, कमलराज भट्टराई ,अम्बिका सापकोटा, गोपाल दहाल, शकुन्तला सुब्बा, मेघनाथ बन्धु, त्रिलोचन रेग्मी, हेमकला न्यौपाने, भूमिका चापागाईं, भावना सुब्बाले कृतिभित्रबाट एक–एक रचनासहित आफ्नो मौलिक रचना पनि वाचन गरेका थिए ।

आसामका कवि प्रमोद खरेलले कार्यक्रममा सहभागी लेखकलाई बधाई शुभकामना दिए । कार्यक्रममा इन्द्रप्रसाद घिमिरे, रामकुमार उपाध्याय, राजकुमार खड्गा, विद्या शील्प एकेडेमीका प्रीन्सिपललेसमेतले लेखकप्रति बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै डा.व्यान्जना शर्माले कृतिको समीक्षा गरेका थिए । शर्माले कृति प्रेमिल रसमा रहेको र सायद लेखकले प्रेममा धोका खाएका छन् कि ? भनेर प्रश्न पनि राखे ।

‘भावनाका रङ्गहरु’ एउटा जीवनको उतरार्धामा आएपनि अत्यन्तै मौलिक र सरल भएकोमा लेखकको प्रंसशा गर्दै उनले बधाईसमेत दिए । लेखक रेवतीप्रसाद घिमिरेले आफूले तीसको दसकदेखि लेखनलाई अगाडि बढाए पनि आफ्नै कारण र शिक्षण पेशाले गर्दा कृति प्रकाशन गर्न नसकेको बताए । समीक्षकले राखेको प्रश्नको जवाफ दिदै लेखक घिमिरेले आफ्नो कृति प्रेम वेदनामा निकट रहेपनि आफूले त्यस्तो नभोगेको र समाजमा घटेका घटनाहरुद्वारा प्रवाहित भएको बताए ।

विद्या शील्प एकेडेमीको आयोजनामा भएको कार्यक्रममा निर्मला भट्टराईद्वारा संचालित कार्यक्रममा ६० जना भन्दा बढि कविहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व साहित्यकार खेमलाल पोख्रेलले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्