Logo

चाँगुनारायणलाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु



काठमाडौं, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । चाँगुनारायणका प्रत्येक घरपरिवारलाई एभोकाडो लगाउन प्रेरित गर्ने उद्देश्यले प्रतिघर दुईवटा एभोकाडोको विरुवा निःशुल्क वितरण गरेर अभियानको सुरुवात गरिएको हो । तीन वर्षसम्म अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने उद्देश्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । चाँगुनारायणबासीहरुको आय आर्जन बढाउनका लागि अभियान सुरु भएको उनले बताए ।

यस अभियानका परिकल्पनाकार बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल हुन् । ढकाल अर्थशास्त्रका विज्ञ पनि मानिन्छन् । अर्थशास्त्र र राजनीतिका पुस्तकसमेत लेखेका ढकाल यस अभियानका मुख्य संरक्षक रहेका छन् ।

चाँगुनारायणका स्थानीयसमेत रहेका ढकालले यस अभियानमा सबै स्थानीयको पहुँच र सहभागिता रहने विश्वास व्यक्त गरे । बागमती प्रदेश सभामा चाँगुनारायण क्षेत्रबाट निर्वाचित सांसद सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रूपमा सञ्चालन गरेको बताए । उनले अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी, प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ ‘भावना’ले आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणका लागि जनताले चलाउने अभियानले देश विकासमा टेवा पुग्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot