Logo

गगन र विश्वप्रकाशलाई धनराजको प्रश्नः ‘निलम्वनसम्म गर्न नसक्ने कांग्रेसमा सभापति हटाउँछु भन्ने ?’



काठमाडौं, २ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अहिले विशेष महाधिवेशनको सम्भावना नरहेको बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको मुख्य एजेण्डा कसैलाई हटाउने र कसैलाई ल्याउने नभई कांग्रेसलाई कसरी सुधार्ने भन्नेमात्रै रहेको बताएका हुन् । कांग्रेसले देशको प्रवृत्ति सुधार्न चाहँदै गर्दा पहिला आफ्नै प्रवृत्ति सुधार्न आवश्यक रहेको उनको भनाई छ ।

‘कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने चिन्ता र चासो हाम्रो मूल एजेण्डा हो । कसैलाई राख्ने, कसैलाई फाल्ने भन्ने एजेण्डा नै होईन । व्यक्तिगत कुरा होईन, यो प्रवृत्तिको कुरा हो । प्रवृत्ति कसरी सुधार्ने कांग्रेसभित्र ? देशको प्रवृत्ति सुधार्न पर्छ भने कांग्रेसले पहिला आफ्नो प्रवृत्ति सुधार्न पर्दैन ?’– उनले भने ।

अहिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चाहँदैमा संसदीय दलको नेता परिवर्तन र विशेष महाधिवेशन सम्भव नरहेको उनको भनाई छ । निलम्बनसमेत गर्न नसक्ने कांग्रेसले विशेष महाधिवेशन बोलाएर सभापति परिवर्तन गर्छु भन्नु पत्याउन नसकिने उनको टिप्पणी छ ।

‘हाम्रो महाधिवेशन भएको डेढ वर्ष भयो । डेढ वर्षमै हटाउने त्यस्तो के आईपर्यो ? छलफल हुनुपरेन ? कसैलाई पार्टीबाट हटाउने छ भने उसले गरेका कर्तुतहरुको पहिला त्यहाँ छलफल होला नि त ? निलम्बनसम्म गर्न नसक्ने कांग्रेसले सभापतिलाई हटाउँछु भन्ने ? पत्याउने ? कांग्रेस सुधार्ने चिन्ता गरौं, त्यसमा एजेण्डाहरु ल्याउँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्