Logo

रास्वपामाथि एमाले महासचिव पोखरेलको गम्भीर आरोप



काठमाडौं, २ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूहरु प्रतिपक्षमा रहँदा विदेशिनेको संख्या बढेको टिप्पणी गरेका छन् । उनले एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा विदेशिनेको संख्या बढ्ने गरेको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले एमालेसमेतलाई जोडेर पुराना पार्टीका कारण विदेशिनेको संख्या बढ्यो भनेर गलत प्रचर गरिएको उनको आरोप छ ।

‘नेकपा (एमाले) सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा(एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

विदेशमा गएकाहरुलाई देश फर्काउँछौं भन्नेहरुलाई गत निर्वाचनमा जनताले लोकप्रिय मत दिएको उनले बताए । विदेशिएको युवालाई स्वदेशमै फर्काउने मुद्दा लिएर जनतामाझ पुगेकाहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि विदेशिनेको संख्या झनै बढेको उनको दाबी छ । ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ?’ भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

अब नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठीक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस्