Logo

वाईसिएल अध्यक्ष शेर्पालीको सम्झनामा सीता दाहाल ‘क्रान्ति आमा, प्रचण्डको तेस्रो आँखा’



काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले स्वार्गीय सीता दाहाल नेपाली क्रान्तिको आमा भएको बताएका छन् ।

उनले सीता दाहाल नेपाली क्रान्तिको आमाको रुपमा जनयुद्ध कालमा थुप्रै छोराछोरीहरुलाई प्रेरणा दिने आमा भएको स्मरण गरे । रिपोर्टर्स नेपालको ‘रिपोर्टर्स संवाद’ कार्यक्रममा उनले भने, ‘सीता आमा नेपाली क्रान्तिको आमाको रुपमा जनयुद्ध कालमा थुप्रै छोराछोरीहरुलाई प्रेरणा दिने आमा हुनुहुन्थ्यो ।’

नेपालको परिवर्तनको प्रत्यक्ष नेतृत्व गर्ने, त्यसको विचार निर्माण गर्ने, त्यसलाई राजनीतिक रुपमा सबै दलहरुको साझा एजेण्डा बनाएर जाने प्रचण्डको एजेण्डामा सीता दाहाल प्रत्यक्ष रुपमा जोडिएको उनको दाबी छ । प्रचण्डका लागि स्वर्गीय सीता दाहाल कुशल राजनीतिक सल्लाहकारमात्रै नभएर तेस्रो आँखा भएको उनले बताए ।

‘गणतन्त्र नेपाल आज हामीले जसरी स्थापना गर्यो, यसमा एउटा अभिभावकको हिसाबले, एउटा कुसल राजनीतिक सल्लाहकारको हिसाबले प्रचण्डकै भाषामा भन्ने हो भने तेस्रो आँखाको रुपमा प्रचण्डमाथि उहाँको सहयोग थियो,’– उनले भने ।

स्वर्गीय सीता दाहाल सिंगो परिवर्तनकामी शक्तिहरुको अभिभावक आमाको भएको उनको भनाई छ । आफूहरुले स्वर्गीय सीता दाहाललाई क्रान्ति आमा, सधैं प्रेरणा दिने, हौसला दिने र जिम्मेवारी बोध गराउन भूमिका निर्वाह गर्ने आमाको रुपमा लिएको उनले बताए । नेपाली क्रान्तिमा स्वर्गीय सीता दाहालको योगदान अतुलनीय रहेको उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot